• शनिबार २२ कार्तिक २०८३ / Saturday, November 07,2026

आगामी मंसिर ५ गते लायन्स क्लब अफ पोखराको स्वर्ण महोत्सव, तयारी तिव्र

२०८३ कार्तिक १८ मंगलबार २२:२०:०० मा प्रकाशित

पोखरा । लायन्स क्लब अफ पोखराले आफ्नो स्थापनाको ५०औँ वर्ष स्वर्ण महोत्सवका रूपमा मनाउने भएको छ। क्लबले आगामी मङ्सिर ५ गते पोखरा इभेन्ट सेन्टरमा विशेष समारोह आयोजना गर्न लागेको हो।

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गत रहेको उक्त क्लबले स्वर्ण महोत्सवको तयारीबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा डिष्ट्रिक्ट ३२५ जे नेपालका डिष्ट्रिक्ट गभर्नर लायन प्रजापति बास्तोलाले संस्थापकहरूको सपना र अग्रजहरूको मार्गदर्शनअनुसार क्लब ५० वर्षसम्म आइपुगेको बताए । डिष्ट्रिक्टकै अग्रणी क्लबका रूपमा रहेको संस्थाले व्यक्तिगत सहयोग जुटाएर समाजसेवामा निरन्तर योगदान पुर्‍याउँदै आएको उनको भनाइ थियो।

सन् १९७६ नोभेम्बर १० तारिखका दिन लायन्स क्लब अफ पोखराको स्थापना भएको हो । यो नेपालको छैटौँ र तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रकै पहिलो लायन्स क्लब हो। क्लबले शिक्षा, स्वास्थ्य, रक्तदान, वातावरण संरक्षण, छात्रवृत्ति तथा विपद् व्यवस्थापन लगायतका क्षेत्रमा योगदान पुर्‍याउँदै आएको छ।

पत्रकार सम्मेलन कार्यक्रममा इमिडियट पास्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन मिलन थापा, पिडिजी लायन प्रेम बहादुर श्रेष्ठ, पिडिजी लायन योगेन्द्र प्रधान, क्याबिनेट सेक्रेटरी लायन जीवन गोर्खाली लगायतका सिनियर लिडरहरु र क्लब पदाधिकारी तथा सदस्यहरुको पनि उपस्थिती थियो । 

स्वर्ण महोत्सव कार्यक्रमका मुख्य संयोजक तथा संस्थापक कोषाध्यक्ष लायन सुशील कुमार गोशलीका अनुसार स्वर्ण महोत्सवमा सार्वजनिक क्षेत्रका विशिष्ट व्यक्तित्व, लायन्स नेतृत्व, संस्थापक सदस्य तथा विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तित्वहरूको सहभागिता रहनेछ। समारोहमा क्लबका संस्थापक, पूर्वअध्यक्ष तथा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने अग्रजहरूलाई सम्मान गरिनेछ।

त्यसैगरी, क्लबको पाँच दशक लामो सामाजिक सेवायात्रा, उपलब्धि र ऐतिहासिक गतिविधि समेटिएको विशेष स्वर्ण महोत्सव स्मारिका विमोचन गरिनेछ। क्लबका प्रेसिडेन्ट लायन डा. माधव तिवारीले स्वर्ण महोत्सव विगतको योगदान स्मरण गर्नुका साथै आगामी पुस्तालाई सामाजिक सेवाप्रति प्रेरित गर्ने महत्वपूर्ण अवसर भएको बताए । क्लबका पूर्वअध्यक्ष दीपेन्द्र कोइरालाले स्वर्ण महोत्सवको प्रचारप्रसारमा सञ्चारमाध्यमको सक्रिय सहयोगको अपेक्षा व्यक्त गरे।